काठमाडौँ । न्याय परिषद्को बैठक आज बस्दै छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा बैठक बस्न लागेको हो । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आज अपराह्न ४ बजेका लागि परिषद्को बैठक बोलाइएको छ । आज बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको बताइएको छ । त्यसबाहेक विविध विषयमा पनि छलफल हुनेछ ।
विशेष अदालतमा गत साउन महिनादेखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत साउन २९ गते विशेष अदालतमा कामकाज गरिरहेका अध्यक्ष प्रेमराज कार्कीसहित न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्र बहादुर सारुलाई अन्य अदालतमा सरुवा गरेपछि विशेष अदालतमा दुई जना न्यायाधीशले मात्रै कामकाज गरिरहेका छन् ।