काठमाडौँ । अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट पारित गर्न सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेताहरुको दौडधुप बढेको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा जुटिरहेको कांग्रेसका नेतासमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
बालकोट पुगेर मन्त्री खाँणले एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिनुभयो । त्यसक्रममा अध्यक्ष ओलीले भने पुरानै अडान दोहोर्याएको बताइएको छ । एमालेले आफूले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने बताउँदै आएको छ ।
यस्तै, गृहमन्त्री खाँणले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आजै खुमलटार पुगेर भेट गर्नुभएको छ । भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको बताइएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गर्ने प्रयासमा हिजो एमालेका अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।
सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ नदिँदा कांग्रेसलाई एमसीसी सदनबाट पारित गराउन सकस परेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रघाटी बुँदामा संशोधन नभएसम्म एमसीसी पास हुन नदिने अडान राखेका छन् भने कांग्रेसले जस्तात्यस्तै सदनबाट पारित गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
यसैबीच, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत दुई विकल्प प्रस्ताव गर्दै उहाँले एसीसी पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ । ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो,’ उहाँले भन्नुभएको छ, ‘अब अर्को बाटो छैन ।’
ट्विटरमार्फत भट्टराईले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनभुएको छ । अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झनै ठूलो सामरिक द्वन्द्वमा फस्नेसमेत उहाँको भनाइ छ ।
यता, एमसीसीको बारेमा आफ्नो धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले जानकारी दिनुभयो ।
लोसपाबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आएपनि पार्टीको आधिकारिक धारणा आएको छैन । पार्टीको धारणा के हुने भन्ने बारेमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाइएको नेता भण्डारीले बताउनुभयो । लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । पार्टीमा पनि सबै नेताबीच एमसीसीको बारेमा एकमत रहेको बताइएको छ ।