काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ समीकरण बनाएरै भए पनि एमसीसी पास गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत दुई विकल्प प्रस्ताव गर्दै उहाँले एसीसी पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ । ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो,’ उहाँले भन्नुभएको छ, ‘अब अर्को बाटो छैन ।’
ट्विटरमार्फत भट्टराईले एमसीसीको डँढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताउनभुएको छ । अहिलेको अवस्थामा एमसीसी पास नगर्दा देश झनै ठूलो सामरिक द्वन्द्वमा फस्नेसमेत उहाँको भनाइ छ ।
तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन । पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ । गठबन्धन नतोडिएसम्म नेपाली कांग्रेसलाई एमसीसी पास गर्न प्रमुख विपक्षी एमालेले नसघाउने अडान राख्दै आएको छ ।