काठमाडौँ । लामो रस्साकसीपछि सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्ने सहमित जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।
गठबन्धन बैठकअघि आज बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको थियो भने कोटेश्वरमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासहित तीन दलका नेताहरूले पनि छलफल गरेका थिए । अध्यक्ष नेपालका अनुसार एमसीसीसँगै गठबन्धनमा रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।
प्रतिनिधि सभाको बैठक आज दिँसो १ बजे बस्दै छ । हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो । एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जस्तात्यस्तै एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृ समाजवादी संशोधन बिना पारित हुन नसक्ने अडानमा छन् ।
एमसीसी आज संसदमा टेबल हुने भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने भनेपछि पारित हुने सम्भावना भने कम छ । यसमा प्रमुख विपक्षी एमालेको मत निर्णायक हुने छ । यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ ।