काठमाडौँ । अमेरिकी अनुदान सम्झौता एमसीसी संसदमा टेबल गर्ने विषयमा अन्तिम सहमति जुटाउन आज सत्ता गठबन्धनको बैठक बस्दै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
बैठककको प्रमुख एजेन्डा एमसीसी नै रहेको उहाँले बताउनुभयो । अन्ततः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सरकारलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भइसकेका छन् । एकीकृत समाजवादीले शनिबार स्थायी कमिटी बैठकबाटै एमसीसी टेबल गर्न दिने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले भने औपचारिक निर्णय गरिसकेको छैन ।
यसअघि भने माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबलै गर्न नदिने अडान लिइरहेका थिए ।
तर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर प्रयास जारी राखेपपछि उनीहरू एमसीसी जस्ताको त्यस्तै स्वीकार गर्न नसकिने तर छलफलका लागि संसदमा पेस गर्न दिनेमा राजी भएका हुन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।