काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि बिहीबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने÷नगर्ने विषयमा निर्णय हुने उहाँले बताउनुभयो । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ । नेताहरु आ–आफ्नो पूर्ववत् अडानमा अडिग रहेपछि बिहीबारको बैठक निष्कर्षमा पुग्न सकेन ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको थियो । तर माओवादी केन्द्रका नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुनसमेत नसक्ने माओवादीको अडान छ । एकीकृत समाजवादीका नेताले भने भोलि शनिबारसम्म कुर्न आग्रह गरेका थिए ।
भोलि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकले एमसीसीका विषयमा धारणा तय गर्ने बताइएको छ । सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ । बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि देउवा प्रमुख प्रतिपक्ष एमालेका नेता केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो ।