काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा नियुक्तीको लहर व्यापक भएको छ । पार्टीका कार्यकर्ताहरुलाई आफुतिर आकर्षित गर्नका लागि अनेक बाहनामा नियुक्ती दिने गरिएको छ ।
मुख्यतः पार्टीको विधान विपरित पार्टीका विभागहरु गठन गरिएको छ । महाधिवेशन भएको ६ महिना भित्रमा गरिसक्नु पर्ने विभागहरुको गठन महाधिवेशन आउन छ महिना बाँकी हुँदा चलिरहेको छ ।
विभागका प्रमुख, उपप्रमुख, सदस्यहरु सयौँको संख्यामा बनाइएको छ । त्यसैगरी केही दिन पहिले जेष्ठ राजनीतिज्ञ सभाको नाममा पनि हजारौलाई नियुक्ती दिएको थियो ।
पार्टी भित्र भइरहेको नियुक्तीको विषय चरम विवादमा परिरहेपनि संस्थापन पक्षले नियुक्तीलाई निरन्तरता मात्रै हैन तिव्रता नै दिएको छ ।
सभापति शेरबहादुर देउवा पक्षले गरिरहेको नियुक्तीप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइराला पक्ष असन्तुष्ट छ भने पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष मौन देखिएको छ ।
पार्टी भित्र धमाधम नियुक्ती हुन थालेपछि असन्तुष्ट पौडेल-कोईराला पक्षले सभापति देउवालाई नियुक्ती खारेज गर्न तथा रोक्न विभिन्न तरिकाले आग्रह गरेपनि उहाँले पुरै वेवास्ता गरिदिनुभएको छ ।
देउवाको वेवास्ताले असन्तुष्ट पक्ष थप रुष्ट भएपनि देउवालाई रोक्नेगरी केही परिणाम दिन भने असमर्थ भएको छ । सभापति देउवाले नियुक्त गर्दा पार्टी भित्र राम्रो छवि भएका, तटस्थ देखिने र न्यायोचित लाग्ने कतिपय व्यक्तिलाई पनि नियुक्त गर्नुभएको छ ।
उहाँले असन्तुष्ट पक्षका नेता कार्यकर्तालाई आफ्नो गुटमा चोर्ने तरिकाले पनि नियुक्त गर्नुभएको देखिएको छ । जस्का कारण असन्तुष्ट पक्षको विरोध प्रभावकारी हुन सकिरहेको छैन । सभापति देउवाले पार्टीका अन्य संरचनाहरुमा पनि धमाधम नियुक्त गर्ने तयारी गरिरहनु भएको देउवा निकट श्रोतले जनाएको छ ।
विवादकै बीचमा भएपनि नियुक्ती पाएका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल र फोनबाट बधाई दिनेहरुको अहिले काँग्रेस बृत्तमा ओइरो लागेको छ ।
पार्टी भित्र असन्तुष्ट पक्षमा रहेका नेता तथा कार्यकर्ताहरुले पनि नवनियुक्त व्यक्तिहरुलाई चाकडीका शब्दहरु खर्चेर लामा लामा बधाई दिएको पाइएको छ ।
पार्टी भित्र नियुक्ती र बधाईको लहर चलिरहेकै बेला पार्टीका नेताहरुले बनाएका विभिन्न संस्थाका नाममा पनि नियुक्ती र बधाईले तिब्रता पाएको छ ।
देउवा निकट मानिने स्कुल अफ डेमोक्रेसी, बरिष्ठ नेता पौडेल मानिने सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, विपी कोइराला युवा नेतृत्व विकास मञ्च, जिपी फाउण्डेसनलगायतका संस्थाको प्रदेश तथा जिल्ला नेतृत्व नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा बधाई तथा चाकडीको प्रतिश्पर्धा नै चलेको छ ।
नियुक्तीको होडबाजीले महाधिवेशनको मुखमा पार्टीलाई बलियो र एकताबद्ध बनाउनेभन्दा पनि गुट मौलाउने र चाकडीप्रथा थप संस्थागत हुदै जाने काँग्रेस निकट विश्लेषकहरुको भनाई छ ।