Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पाँच दलीय गठबन्धन टुट्ने निश्चित, कांग्रेस-एमाले नजिकिँदै

पाँच दलीय गठबन्धन टुट्ने निश्चित, कांग्रेस-एमाले नजिकिँदै

  • बुधवार, फाल्गुण ४ २०७८

  • 876
    SHARES

  • पाँच दलीय गठबन्धन टुट्ने निश्चित, कांग्रेस-एमाले नजिकिँदै

    काठमाडौैं – रातारात राजनीतिमा नाटकीय परिवर्तन नभए सत्तारुढ पाँच दलीय गठबन्धन टुट्ने निश्चित भएको छ । सकेसम्म भोलि बस्ने सत्ता गठबन्धनको बैठकलगत्तै नत्र पर्सीको प्रतिनिधिसभा बैठकपछि पाँच दलीय गठबन्धन टुट्ने निश्चित भएको हो ।

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले जसरी पनि एमसीसी सम्झौता सदनमा टेबल गर्ने तर सत्ताधारी माओवादी र एकीकृत समाजवादीले कुनै हालतमा त्यसलाई समर्थन नगर्ने अडान लिएपछि पाँच दलीय गठबन्धन भत्किने चरणमा पुगेको हो ।

    माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेस गरे सरकारबाट बाहिरिने निर्णय आज दलको बैठकमार्फत गरिसकेको छ । प्रमुख सचेतक देव गुरुङले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर निर्णय भए सरकारबाट फिर्ता हुने बताउनुभयो ।

    सत्तासीन अर्काे घटक एकीकृत समाजवादीले एमसीसी सदनमा टेबल गर्ने नगर्नेबारे आधिकारिक निर्णय त गरिसकेको छैन, तर यसलाई संशोधनबिना सदनमा टेबल गर्न नदिनेमा नेताहरुको एउटै आवाज सुनिन्छ । वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रमा विवादीत विषयहरुबारे सरकारले जबर्जस्ती गर्न नमिल्ने बताउनुभयो ।

    नेपाली जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भएकाले विवादीत विषयहरु संशोधन नगरी सदनमा लैजाने कुरा मान्न नसकिने उहाँले बताउनुभयो ।

    सरकारले आजै बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो । तर माओवादीले सरकारबाट बाहिरिने चेतावनी दिएपछि यसबारे फेरि एकपटक निर्णायक छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा राजी बन्नुभएको छ ।

    भोलि बस्ने पाँच दलीय गठबन्धनको बैठकमा ठोस छलफल हुने र पर्सीको संसद बैठकमा एमसीसी टेबल गर्ने कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।

    एमसीसीबारे सत्तासीन दलहरु आ–आफ्नै अडानमा रहेकोले भोलिको गठबन्धन बैठकमा पनि सहमति जुट्ने सम्भावना देखिएको छैन । बरु गठबन्धन भत्किने सम्भावना अझ बढेर गएको नेताहरुका अभिव्यक्तिले देखाइरहेको छ ।

    गठबन्धन भत्किए त्यसछिको राजनीति कसरी अघि बढ्ला भन्नेमा आम चासो छ । संविधानविद भीमार्जुन आचार्य अहिले सरकारमा रहेको कुनै दलले समर्थन फिर्ता लिए संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताउनुहुन्छ ।

    प्रधानमन्त्रीले विश्वासको मत पाए सरकार यथावत रहने अन्यथा संसद विघटन भएर मुलुक चुनावमा जाने संवधानिक व्यवस्था रहेको उहाँले बताउनुभयो ।

    यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले आफूसँग गठबन्धनको विकल्प पनि रहेको बताएर एमसीसीमा निर्णय दिन माधवकुमार नेपाल र प्रचण्डलाई दबाब दिएको विषय चर्चामा छ ।

    माओवादी र नेकपा एसका नेताहरुले यसलाई कांग्रेसले एमालसँग साँठगाँठ गरेको रुपमा बुझेका छन् । यदि माओवादीले समर्थन फिर्ता लिए सभामुखलाई हटाउने सर्तमा एमालेले देउवा सरकारलाई समर्थन गर्न सक्ने सम्भावनाहरु पनि देखिएको जानकारहरु बताइरहेका छन् ।


    बुधवार, फाल्गुण ४ २०७८०७:४७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij