काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताउनुभयो ।
आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि बोल्दै महासचिव पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभएको हो । सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । यद्यपी प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले आजको संसदीय दलको बैठकले निर्णय भएको छ ।
आइतबारको सचिवालय बैठकले सत्ता गठबन्धनले अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ । सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने एमालेले निर्णय गरेको हो ।