काठमाडौँ । भोलीका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । संसद् सचिवालयले आइतबार(आज) सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । बैठकमा प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी थिइन् ।
यसअघि पनि प्रतिनिधि सभा बैठक ६ दिन सारेर २ गतेका लागि तय भएको थियो। बैठक सूचना टाँस गरेर तेस्रो पटक सारिएको हो। यसअघि माघ १६ गते र २६ गतेका लागि तय भएको बैठकसमेत स्थगित भएको थियो।
