काठमाडौं – सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट –एमसीसी अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।
बिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी दिए ।
बिहीवारको बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले एमसीसीबारे प्रष्ट पार्न पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई आग्रह गरेका थिए । महतले एमसीसी राम्रो अनुदान भएकोले गुमाउन नहुने धारणा राखेका थिए । देउवाले सरकार एमसीसी अनुमोदनको पक्षमा रहेको बताएका थिए ।
‘एमसीसी विद्युत र बाटोको लागि हो भनेर जनमानसमा भन्नुपर्छ र अनुमोदन गर्नुपर्छ भन्ने निश्कर्ष छ,’ कोइरालाले भने । उनले गठबन्धन टुट्ने या कायम रहने भन्दापनि एमसीसी पारित गर्नुपर्ने कुरा उठेको बताए ।
पूर्व महामन्त्री कोइरालाले स्थानीय तह चुनावमा कांग्रेस एक्लै लड्नु पर्ने बताएका थिए । ‘गठबन्धनको विषयमा मैले कुरा राखे, हामीले आफ्नो अस्तित्व जोगाउनु पर्छ भन्ने कुरा गरे । मेरो कुरामा धेरैको सहमति छ,’ कोइरालाले भने ।
बैठकमा स्थानीय तहको चुनाव, भातृ संगठनको अधिवेशन लगायतको विषयमा कुरा भएको थियो । केही भातृ संगठनको अधिवेशन स्थानीय तहको चुनाव अगावै गर्ने सहमति भएको उनले बताए ।