काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
बुधवार(आज) वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।
स्थानीय तहको निर्वाचन अघि किसान आन्दोलनको माग सम्बोधन नभए तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म निर्वाचनमा अवरोध गर्ने उनले चेतावनी दिए ।
जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले निर्वाचनमा जानु अगाडि सरकारले किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्ने बताएका छन् ।
उनले यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने आफूलाई आशा नरहेको बताए । ‘अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आएपनि एजेण्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ उनको भनाइ छ । उनले किसान आन्दोलनको ज्ञापन पत्र नलिएर विदेशीको स्वार्थको पछाडि नेताहरु दौडिइरहेको आरोप लगाए ।
उनले अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट सुरु हुने घोषणा गरेका छन् । मौसमको खराबीका कारण राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए ।