काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको अवसरमा उहाँले यस्तो बताउनु भएको हो ।
‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सो अवसरमा उहाँले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको बताउनुभयो ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन’, उहाँले भननुभयो, ‘हामी यति ठूलो परिवर्तनका बाहक विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’
उनले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।