काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि बारेको छलफललाई तीव्रता दिनुभएको छ । राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दाबीसहित प्रधानमन्त्री ओलीले यसबारे अध्ययन अनुसन्धानको कामलाई अघि बढाउन समेत सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
भानुजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्साको ठोरी र चितवनको माडी क्षेत्र भगवान रामको जन्मभूमि भएको र अहिले भारतले तयार पारेको अयोध्या नक्कली रहेको बताएपछि नेपाल र भारतमा यो विषय चर्चामा छ ।
प्रधानमन्त्री ओलीले यसबारे बलियो आधार तयार पार्न आज चितवनको माडी नगरपालिकाको टोलीसँग काठमाडौँमा छलफल गर्नुभएको छ । हिजो माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभएका ओलीले आज माडी नगरपालिकाको टोलीलाई काठमाडौँमै बोलाएर छलफल चलाउनुभएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगको आजको छलफलमा सहभागी माडी नगरपालिकाका प्रवक्ता तथा वडानम्बर ९ का अध्यक्ष शिवहरी सुवेदीले प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा अघि बढ्न निर्देशन दिनुभएको बताउनुभयो । प्रमाण संकलनमा जोड दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री ओलीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको दाबी गर्नुभएको थियो । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक बस्तु भेटिँदै आएको र तीनले पनि राम जन्मभूमिबारे बलियो प्रमाण दिने पुरातत्वविदको दाबी छ । प्रधानमन्त्री ओलीले त भारतले नेपालमाथि सांस्कृतिक आक्रमण गरेर भारतमा नक्कली अयोध्या खडा गरेको आरोप नै लगाउनुभएको थियो।
हुन त प्रधानमन्त्रीले यो अभिव्यक्ति दिएको भोलिपल्टै परराष्ट्र मन्त्रालयले खण्डन गरेको थियो । भारत र नेपालमै पनि रामजन्मभूमिबारे ओलीको अभिव्यक्ति विवादित बनेपछि परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर उक्त अभिव्यक्ति सच्याएको थियो । त्युपछि गएको साउन २१ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रामजन्मभूमि भनिएको अयोध्यामा राम मन्दिरको एक भव्य समारोहकाबीच शिलान्यास गरिसक्नुभएको छ । सो अवसरमा मोदीले नेपालको नाम समेत उच्चारण गर्नुभएको थियो । विश्वका विभिन्न मुलुकसँग रामको सम्बन्ध केलाउने क्रममा मोदीले नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकी अर्थात (सिता)सँग जोडिएको बताउनुभएको थियो ।
भारतमा राम मन्दिरको शिलान्यास भएलगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमिबारे फेरि छलफल चलाएर यो बहसलाई नयाँ रुप दिनुभएको छ । रामजन्मभूमिबारे तथ्यहरु संकलन गर्ने कार्य उचित भएपनि वर्तमान अवस्थामा यसबारे बहस सृजना गरेर छिमेकीलाई उत्तेजित पार्न नहुने प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भनाई छ ।
आफ्नै पार्टीभित्र उत्पन्न विवादका कारण सरकार अहिले संकटमा छ । कोरोना महामारीका कारण नागरिकहरुले अकालमै मृत्युवरण गरिरहनुपरेको छ । यो बेला पार्टीको विवाद मत्थर पारेर कोरोना महामारीबाट नागरिकलाई जोगाउनु सरकारको पहिलो प्राथमिकताको विषय हुनुपर्ने थियो । तर सरकारका पछिल्ला गतिविधिहरु महामारीबाट नागरिकलाई जोगाउने भन्दा भिन्नै ढंगले अघि बढिरहेका छन् ।