Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

  • शनिवार, माघ २२ २०७८

  • 534
    SHARES

  • मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

    काठमाडौं । सिंघिया, केसलिया करिडोर र मीरगन्ज पुलको समस्या समाधानका लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीबीच छलफल भएको छ ।

    नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केसलियाको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माण गर्ने विषयमा छलफल भएको हो ।

    त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगन्ज पुलमा भएको क्षतिका कारण यस क्षेत्रका उद्योगी, व्यवसायीले ठूलो अप्ठेरो बेहोर्नुपरेको बताए ।

    मन्त्री कार्कीले भने, “हरेक वर्ष पुल भासिने र ठूला मालवाहक सवारीसाधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनुपर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरिनुपर्दछ ।”

    उनले नेपाल र भारतका नागरिकबीच सदियौँदेखि भाइचारा सम्बन्ध रहेको र नदीजन्य विपतिका कारण दुवैतर्फ उत्तिकै कठिनाइ हुने गरेको बताए ।

    मन्त्री कार्कीले प्रदेश–१ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघिया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए ।

    “सीमापार अपराध र लागुऔषधले उत्पन्न समस्याको विषयमा समेत दुवैतर्फका राज्य सरकार मिलेर काम गर्नुपर्दछ,” उनले भने, “परिवेश, वेशभूषा, रहनसहन र आपसी संस्कार अनि संस्कृति दुवै देशतर्फ उस्तै रहेकोले पनि आपसी हितलाई मध्यनगर गरी हामीले कार्य गर्नुपरेको छ ।”

    बिहारका उपमुख्यमन्त्री प्रसादले प्रदेश–१ सरकारसँग मिलेर आफूहरूले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । उठेका विषयलाई थप औपचारिक रूपमा दुई सरकारबीच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा समेत दिए ।

    उपमुख्यमन्त्री प्रसादले भने, “प्रदेश–१ को मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ । यो क्षेत्रको विकासमा बिहार सरकारले मद्दत गर्ने विषयमा हामी सरकारस्तरमा थप छलफल गर्नेछौँ ।”

    उनले मीरगन्ज पुलबाट सिर्जित समस्याको विषयमा आफू जानकार रहेको भन्दै यसको समाधानका लागि पहल गर्ने बताए ।


    शनिवार, माघ २२ २०७८०१:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij