काठमाडौँ । गायिका अञ्जु पन्तको स्वरमा रहेको चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ को नयाँ भर्सन आएको छ । उक्त गीत पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पुनः गाएकी हुन् ।
‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको नयाँ भर्सन बिहीबार ‘किरण क्रियसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । जसमा किरण कँडेलको एरेन्ज छ भने भिडियो बुद्ध थापाले खिचेका हुन् । सम्पादन विनोद बमले गरेका छन् ।
दशक अघि नै अञ्जु पन्तले गाएको यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा पहिले नै आइसकेको छ । ती दुवै लोकप्रिय छन् । गायिका पन्तलाई स्थापित गराएको यो चर्चित गजल विपिन किरणले रचेका हुन् भने संगीत महेश खड्काले भरेका हुन् ।