बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले हल्लका भरमा लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गर्नुभयो ।
‘यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो’ उहाँले भन्नुभयो, ‘माथिबाट जे निर्णय हुन्छ, यँहा पनि त्यही हुन्छ ।’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ती सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो ।
प्रतिगमनका विरुद्व राष्ट्रिय आवश्यक्ताको आधारमा गठबन्धन बनेको बताउँदै उहाँले भन्नुभयो, ‘व्यक्तिको चाहाना र इच्छा हुँदैमा न त सरकार परिवर्तन हुन्छ, नत गठबन्धन टुट्छ ।’ मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अवरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताउनुभयो ।
अहिले संसद सञ्चालनको लागि बिजनेशको तयारी भइरहेको बताउँदै उहाँले मन्त्रालयहरुले बिजनेश निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री शर्माले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दावी गर्दै भन्नुभयो, ‘जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने हुन्छ ।’
कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडी बढाएको बताउंदै ति योजनाहरु समयमा नै सम्पन्न गर्ने दावी गर्नुभयो । उहाँले पूर्ववर्ती सरकारले अगाडी सारेका आयोजनाहरु अगाडी बढेको बताउँदै वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको बताउनुभयो ।