काठमाडौं – सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) संशोधन नगरी पारित नहुने दोहो¥याउनुभएको छ ।
पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने बताउनुभएको हो ।
‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं । अन्य सहयोग लिइ पनि राखेका छौं। एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ प्रचण्डको भनाइ छ ।
एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको उहाँको भनाइ थियो । प्रचण्डले यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहने बताउनभुएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको पनि प्रचण्डको आरोप छ ।
स्थानीय निर्वाचन जेठमा हुने उल्लेख गर्दै उहाँले पार्टीलाई गाउँ केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टी नेतामुखी, शहरमुखी भएको जनगुनासोहरु आइरहेका उल्लेख गर्दै प्रचण्डले गाउँ र जनतामुखी भएर लाग्न नेता–कार्यर्तालाई सुझाव दिनुभयो ।