काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न नसघाए सहकार्य तोड्ने चेतावनी दिएपछि सत्तारुढ गठबन्धन तरंगित बनेको छ । पाँच दलीय सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस बाहेकका दल एमसीसी संसदबाट पारित गर्न नुहने पक्षमा छन् ।
तर प्रधानमन्त्री देउवाले शनिबार साँझ बालुवाटारमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग एमसीसी पारित गर्न असहयोग गरे सहयकार्य तोड्नेसम्मको चेतावनी दिनुभएको हो । देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताउनुभएको थियो ।
प्रधानमन्त्री देउवा यही संसदमा एमसीसी पारित गर्नुपर्ने प्रयत्नमा देखिएपनि त्यसमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु सहमत छैनन् । एमसीसी पैसासँग मात्र नभई अन्य स्वार्थसँग पनि जोडिएको बिषय भएको पूर्वसभामुखसमेत रहनुभएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको दाबी छ । सम्झौताकै क्रममा अर्थमन्त्रीले हस्ताक्षर गरिसकेपछि सरकारको काम सकिएको भन्दै उहाँले एमसीसी संसदबाट पारित गर्नुपर्ने बिषय नै रहस्यमय भएको बताउनुभयो ।
सभामुख रहँदा महराले संसदमा एमसीसी पेश गर्न नदिन भूमिका खेल्नुभएको थियो । एमसीसीको विपक्षमा उभिएको माओवादी केन्द्रले पारित गर्नै परे त्यसभित्र रहेका राष्ट्रहित विपरितका बुँदा संशोधन गरेर मात्र पास गर्नुपर्ने बताउँदै आएको छ । अहिले पनि आफूहरु त्यही नीतिमा अडिग रहेको नेता महराको भनाइ छ ।
एमसीसी पारित गर्नुपर्ने प्रधानमन्त्री देउवाको दबाबप्रति नेकपा एकीकृत समाजवादी पनि असहमत छ । बरु गठबन्धन तोड्न तयार हुने तर आम जनताको चाहनाविपरितको एमसीसी पास गर्न नसघाउने एकीकृत समाजवादीका नेताहरुको भनाइ छ ।
विचार नमिल्दा एउटै पार्टीसमेत विभाजन भएको भन्दै फरक फरक पार्टीबिच गरिएको गठबन्धन सधैँलाई रहन्छ भन्ने कल्पनाबाहिरको कुरा रहेको एकीकृत समाजवादी नेता मेटमणि चौधरी बताउनुहुन्छ । गठबन्धन तोडिएपनि एमसीसी पास गर्ने सवालमा आफूहरुले कुनै सम्झौता नगर्ने उहाँले बताउनुभयो ।
गहिरिएर अध्ययन नगरेकाले मात्र एमसीसी सम्झौताको विरोध गर्ने गरेको प्रधानमन्त्री देउवाले बताउँदै आउनुभएको छ । तर माओवादी नेता कृष्णबहादुर महराले भने प्रधानमन्त्रीलाई नै उक्त सम्झौताको राम्रोसँग अध्ययन नगरेको भन्दै दोहो¥याएर पढ्न सुझाव दिनुभयो । साथै उहाँले जनमतको कदर गर्नसमेत आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसले भने एमसीसी राष्ट्रिय हितमै रहेको दाबी गर्दै आँखा चिम्लेर पास गर्दा पनि हुने बताउँदै आएको छ । एमसीसी अनुदान सम्झौता पारित नगर्ने हो भने अब संसदबाटै नेपाललाई कुनै सहायता चाहिँदैन भन्ने निष्कर्षमा पुग्नुपर्ने कांग्रेस नेता प्रकाशशरण महत बताउनुहुन्छ ।
एमसीसीका कारण गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिनका लागि संसद बैठक नै स्थगित गराएका छन् । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले हिजो साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।
२९ असारमा प्रधानमन्त्री भएपछि एमसीसी अनुमोदन गराउन देउवाले यो तेस्रो जमर्काे गर्नुभएको हो । तर सभामुख र गठबन्धन सम्बद्ध नेताहरुको असहयोगका कारण देउवाको यो प्रयास पनि असफल भएको छ । यसअघिका दुबै प्रयास गठबन्धनका नेताहरुकै असहमतिका कारण सम्भव हुन सकेको थिएन ।
त्यसपछि देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गर्नुभएको थियो । गठबन्धनभित्र साथ नपाएपछि अब फेरि पनि देउवाले ओलीसँग संवाद अघि बढाउने सम्भावना बढेर गएको छ ।