काठमाडौँ । काठमाडौँस्थीत काठमाडौ मेडिकल कलेज र मोरङस्थीत नोबेल मेडिकल कलेजका विद्यार्थीहरुको माग सुनुवाई गराउन केन्द्रीय विद्यार्थी संगठनहरुले काठमाडौ विश्वविद्यालयलाई दवाव दिएका छन् ।
दुवै कलेज काठमाडौ विश्वविद्यालय अन्तर्गतका कलेज भएकाले विश्वविद्यालयका उपकुलपति भोला थापालाई ज्ञापन पत्र बुझाएर माग पुरा गराउन दवाव दिएको नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।
कलेजहरुले सरकारले र विश्वविद्यालयले तोकेका मापदण्ड विपरितका शुल्क लिने गरेको र पुरा गर्नुपर्ने मापदण्डहरु पुरा नगरेको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
उनीहरुको आन्दोलनप्रति आठ विद्यार्थी संगठनहरुले ऐक्वबद्धता जनाएका छन् । उनीहरुले विद्यार्थीहरुको माग पुरा नगराएमा थप आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौ, अखिल नेपाल विद्यार्थी युनियनलगायतका संगठनहरुले मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनलाई साथ दिएका हुन ।
चिकित्सा शिक्षा अध्ययनका लागि २०७८ को नयाँ भर्ना गर्नेक्रममा दुवै कलेजले प्रतिव्यक्ति झण्डै पाँच लाख रुपैया बढी लिएको, ऐच्छीक हुनुपर्ने छात्रवासलाई अनिवार्य गरिएकोलगायतका विरुद्धमा मंसिर १९ गतेदेखि विद्यार्थीहरु आन्दोलित भएका हुन ।
विद्यार्थीहरुको मागका बारेमा दुवै कलेजको नेतृत्वले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई देखाएर पन्छिने गरेकाले आफुहरु उपकुलपतिको ध्यानाकर्षण गराउन गएको महामन्त्री पाण्डेले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीहरुको माग सम्वोधन गराउने र आन्दोलन अन्त्य गराउने बारेमा उपकुलपति थापा सकारात्मक देखिएको पनि बताउनुभयो ।