Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन बारे रामचन्द्र पौडेल र विश्वप्रकाश शर्मा किन मौन ?

निर्वाचन बारे रामचन्द्र पौडेल र विश्वप्रकाश शर्मा किन मौन ?

  • मंगलवार, माघ ११ २०७८

  • 886
    SHARES

  • निर्वाचन बारे रामचन्द्र पौडेल र विश्वप्रकाश शर्मा किन मौन ?

    दुर्गा अधिकारी । सत्तारुढ गठवन्धन भित्र आगामी बैशाखमा निर्वाचन सार्ने बारेमा छलफल भइरहेका बेला देशभरी निर्वाचन सार्नु ठिक की वैशाखमै गर्नु ठिक भन्ने बारेमा बहस चलिरहेको छ । सार्नु पर्ने पक्षमा उभिने र बैशाखमै गर्नुपर्छ भन्ने पक्षमा उभिने दुवैले आ आफ्नो तर्कको पछाडी संविधान र ऐनलाई नै हवला दिने गरेका छन् ।

    पक्ष विपक्षमा उभिने क्रममा काँग्रेसकै नेता कार्यकर्ताहरु पनि दुवै पक्षमा वाँडिएका छन् । सभापति देउवा पक्षका नेताहरु संविधानले स्थानीय तहको निर्वाचन पदाधिकारीको कार्यकाल सकिएपछि मात्रै गर्न मिल्ने तर्क गरेका छन् । तर सभापतिमा पराजित शेखर कोईराला सहितका कतिपय नेताहरु भने संविधानले स्थानीय तहमा रिक्तताको कल्पना नगरेकाले पहिले नै निर्वाचन गर्नुपर्ने जिकिर गरेका छन् । निर्वाचन आयोगको प्रस्ताव अनुसार नै वैशाखमा निर्वाचन गर्नुपर्ने पक्षमा सवैभन्दा अगाडि र सवैभन्दा खरो आवाज भने महामन्त्री गगन कुमार थापाले उठाउनु भएको हो ।

    उहाँले संविधान र लोकतन्त्र जोगाइराख्न वैशाखमै निर्वाचन हुनुपर्ने अडान राख्नु भएको छ । थापासँगै अन्य अधिकांश नेता तथा कार्यकर्ताहरु पनि वैशाखमा निर्वाचन गर्नुपर्ने पक्षमा खुलेर बोल्न थालेका छन् । तर पार्टीका शिर्ष नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा भने अहिलेसम्म पनि मौन नै रहनु भएको छ ।

    नेता पौडेलले विगतमा हरेक राजनीतिक तथा समसायमीक विषयमा सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै आउनु भएकोमा अहिले भने मौन बस्नु भएको छ । काँग्रेसको गत १४औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई अप्रत्यक्ष रुपमा सघाएको आरोप खेप्नु भएका पौडेलले अहिले पनि उहाँकै इसारामा र उहाँलाई नै सघाउने गरी मौन बस्नु भएको आरोप थपिएको छ ।

    सभापति देउवाकै प्रस्तावमा सर्वदलीय समन्वय समितिको संयोजक समेत रहनु भएका नेता पौडेल अहिले गठवन्धनका नेताहरुकै घेरामा रहनु भएको छ । त्यसैले पनि उहाँ मौन बस्नु भएको जस्तो देखिएको छ ।

    त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्मा पनि अधिकांश विषयमा आफ्नो धारणा तथा टिप्पणी तत्काल प्रकट गर्ने नेतामा पर्नुहुन्छ । हरेक विषयमा स्पष्ट र सालिन टिप्पणी तथा धारणा राख्ने स्वभावकै कारण उहाँ लोकप्रिय हुनुभएको छ । तर देशकोे दिर्घकालिन महत्व र लोकतन्त्रका लागि ठोस अर्थ राख्ने विषयमा आम नागरिकले लामो समयदेखि बहस गरिरहँदा पनि उहाँ भने मौन नै रहनु भएको छ ।

    उहाँले पछिल्लो समय मन्त्री रेणु यादवको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उहाँलाई तीन सुझाव दिनु भएको थियो । तर यादवको अभिव्यक्तिभन्दा महत्वपूर्ण विषयमा भने उहाँले मौनता साँधनुलाई धेरैले अस्वभाविक रुपमा हेरेका छन् ।

    कोरोनाभाइरसको दोस्रो सङ्क्रमणमा परेपनि आफ्नो स्वास्थ्य अवस्था भने ठिक नै रहेको बताउनु भएका महामन्त्री शर्माले सामाजिक सञ्जलमै अन्य गतिविधि भने गरिरहनु भएको देखिएको छ ।

    निर्णायक र वौद्धिक मानिएका व्यक्तिहरुले सार्वजनिक सरोकार, दिर्घकालिन राष्ट्रिय महत्वका विषयमा धारणा सार्वजनिक नगर्दा कतिपय गलत निर्णय हुने भएकाले त्यसलाई रोक्नका लागि परिपक्व धारणा सार्वजनिक गर्नु जिम्मेबार व्यक्तिहरुको दायित्व हो ।

     


    मंगलवार, माघ ११ २०७८०९:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij