काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक आज बिहान साढे ९ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन, अवरुद्ध संसद् खुलाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उहाँले बताउनुभयो । शुक्रबार देशका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री देउवाले अबको १ वर्ष भित्रै प्रतिनिधि सभा, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने सरकारको दायित्व रहेको भन्दै तयारीमा जुट्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सम्बोधनपछि शुक्रबारै बालुवाटारमा बसेको सत्तारुढ गठबन्धको उच्चस्तरीय समन्वय समितिको बैठकले स्थानीय निर्वाचनबारे संविधान र ऐन बाझिएको निष्कर्ष निकाल्दै कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय गरेको छ ।