Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : मुलुकमा कायापलट !

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : मुलुकमा कायापलट !

एमाले भन्छ– मुलुक एक इन्च पनि अघि बढेन
  • शुक्रवार, माघ ७ २०७८

  • 681
    SHARES

  • राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : मुलुकमा कायापलट !

    काठमाडौँ । पाँच दलीय गठबन्धको नेतृत्व गर्दै गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार सही दिशामा अघि बढीरहेको दाबी गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेशपछि काकतालीले पाँचौं पटक प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएका देउवाले छोटो समयमा सरकारले अतुलनीय काम गरेको जिरिक गर्नुभयो । एक हिसाबले भन्ने हो प्रधानन्त्रीको सम्बोधनमा वर्तमान सरकारले मुलुकमा कायापलटै गरेको देउवाको ठहर व्यक्त भइरहेको थियो ।

    सम्बोधनमा आधा घण्टाभन्दा लामो समय खर्चनुभएका उहाँले अधिकांश समय आत्मप्रशंसा र प्रतिवद्धतामा बिताउनुभयो । प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले अहिलेको मुख्य समस्याका रुपमा खडा कोरोनाविरुद्ध अग्रणी भूमिका खेलेको दाबी गर्नुभयो । यसको समाधान पूर्ण खोप नै भएकाले चैतभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको उहाँले बताउनुभयो । त्यहीअनुसार खोप अभियान चलिरहेको देउवाको भनाइ छ ।

    सरकारले ६ महिनाको अवधिमा गरेका कार्यप्रगतिबारे व्याख्या गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र प्रतिकुल अवस्थाबाट गुज्रिरहे पनि सुधारका लागि अधिकतम प्रयास गरेको भन्दै त्यसको बचाउ गर्नुभयो । विद्युत् उत्पादनमा भएको वृद्धि तथा आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाहजस्ता कारण आर्थिक वृद्धिदर गत वर्षको माथि हुने अपेक्षा गरिएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

    यसैगरी, प्रधानमन्त्री देउवाले तराई–मधेश र उच्च–हिमाली क्षेत्रमा सितहर तथा हिमपातबाट अब अकालमा कसैले ज्यान गुमाउनु नपर्ने गरी सरकारले व्यवस्था मिलाएको बताउनुभयो । हिउँद याममा तराई–मधेश क्षेको मुख्य समस्या सितलहर र उच्च–हिमाली भेगको हिमपात हो । यसकै कारण वर्षेनी धेरैले ज्यान गुमाउनु परिरहेको अवस्थामा प्रधानमन्त्रीले यस्तो दाबी गर्नुभएको हो । साथै उहाँले अब कृषकले समयमै मल पाउने वातावरण सरकाले तयार गरेको बताउनभुएको छ ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आन्योलको भूमरीमा धकेलिँदै गएको स्थानीय तहको निर्वाचनबारे बोल्नुभयो । आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएका उहाँले यसबारे ठोस प्रतिवद्धता भने जनाउनुभएन ।

    प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने पनि बताउनुएको छ । यस्तै, मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै काठमाडौंमा पानी वितरण गरिने दाबी पनि प्रधानमन्त्रीको छ । ६ महिने कार्यकालभित्रमा १७७ किलोमिटर सडक कालोपत्रे भएको, ८२ झोलुङ्गे पुल निर्माण र संघीय संसद भवन निर्माणको बिषयलाई पनि उहाँले आफ्नो सरकारको उपलब्धिको सूचीमा अटाउनुभएको छ ।

    प्रधानमन्त्री देउवाले सरकार अहिले सही दिशामा अगाडि बढिरहेको दाबी गर्दै छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको बताउनुभयो । यसले जनतामा आशा र भरोसा बढेकोसमेत उहाँको जिकिर छ । सरकार यसमै सन्तोष गरेर नबस्ने भन्दै देउवाले विकास र समृद्धिको यात्रालाई थप गति दिने बताउनुभयो ।

    प्रधानन्त्री देउवाले आफू नेतृत्वको सरकार बनेपछि संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    प्रधानमन्त्री देउवाले सरकारले देश जनताको लागि महत्पूर्ण काम गरेको दाबी गरिरहँदा प्रमुख विपक्षी दल एमालेले भने वर्तमान सरकारको ६ महिने कार्यकालमा मुलुक एक इन्च पनि अघि नसरेको टिप्पणी गरेको छ । एमाले सचिव योगेश भट्टराईले कोरोना महामारीले मुलुक झन् गाँजिरहेको तथा न्यायपालिका र कार्यपालिका ध्वस्त रहेको साथै कर्मचारीतन्त्र र सुरक्षा निकाय पनि राज्यप्रति जवाफदेही नरहेको बताउनुभयो ।

    सत्तापक्ष र प्रतिपक्ष भाषा र भाषण तथा आरोप–प्रत्यारोपको नियतीबाट बाहिर निस्केर इमानदारीताका साथ आ–आफ्नो दायित्व पूरा गर्ने मात्र हो भने मुलुक सही दिशामा अघि बढ्नेमा कुनै दुई मत छैन ।


    शुक्रवार, माघ ७ २०७८०८:१६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij