Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बेलायतमा दैनिक एक लाख बढीमा कोरोना संक्रमण, प्रधानमन्त्रीद्धारा प्रतिबन्ध हटाउने घोषणा

बेलायतमा दैनिक एक लाख बढीमा कोरोना संक्रमण, प्रधानमन्त्रीद्धारा प्रतिबन्ध हटाउने घोषणा

  • बिहिवार, माघ ६ २०७८

  • 623
    SHARES

  • बेलायतमा दैनिक एक लाख बढीमा कोरोना संक्रमण, प्रधानमन्त्रीद्धारा प्रतिबन्ध हटाउने घोषणा

    बेलायतमा बुधबार एक लाख ८ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भयो। त्यही दिन तीन सय ५९ जना संक्रमितले ज्यान गुमाए।

    संक्रमणको अवस्था यस्तो भएका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने हाउस अफ कमन्समा एउटा घोषणा गरे। उनले आउने सातादेखि कोरोनाभाइरसको संक्रमण रोक्न लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा गर्ने बताए।

    बिबिसीका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण यसअघि नै उच्च विन्दुमा पुगिसकेको भन्दै बोरिसले जनवरी २७ देखि जनजीवन सामान्य बनाउने बताएका हुन्।

    जोनसनका अनुसार जनवरी २७ देखि सार्वजनिक स्थानहरूमा जाँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइनेछ। विद्यार्थीहरूले कक्षाकोठामा बस्दा मास्क लगाउनु पर्ने नियम त आजैदेखि हटाइएको छ।

    अब वर्क फ्रम होम निर्देशिका पनि लागु हुने छैन। मानिसहरू कार्यालयमा आएर काम गर्न सक्नेछन्। सार्वजनिक स्थानमा प्रवेशका लागि पूर्ण खोप लगाएको प्रमाणपत्र वा केही समयअघि मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउनु पर्ने नियमलाई पनि हटाइनेछ।

    कोरोना भएपछि आइसोलेसनमा बस्नुपर्ने नियम भने मार्च २४ सम्म लागु हुनेछ। बोरिसले त्यसपछि उक्त नियमको म्याद नथपिने र तथ्यांकहरूले साथ दिए पहिले नै उक्त नियम हट्ने बताएका छन्।

    बेलायतमा पछिल्लो समय गत डिसेम्बरमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएपछि यी स्वास्थ्य मापदण्डहरू लागु भएका थिए।

    ओमिक्रोनको संक्रमणका कारण अस्पतालमा बिरामीको चाप नबढेको र संक्रमणको उच्च विन्दु पार भएको उल्लेख गर्दै यस्तो निर्णय गरिएको बताएका छन्। परिस्थितिको मूल्यांकन गर्दै सरकारले कोरोना सँगै बाँच्ने दीर्घकालीन नीति ल्याउने उनको भनाइ छ।

    प्रधानमन्त्री जोन्सनको यो घोषणा निकै हतारमा पो भयो कि भन्ने पनि चर्चाहरू हुन थालेका छन्। बेलायतमा धेरै मानिसले कोरोनाविरूद्धको खोप लगाएको र संक्रमित पनि धेरै भइसकेकाले जोन्सन सरकारले यस्तो निर्णय लिएको ठानिएको छ।

    पछिल्लो समय युरोपमा ओमिक्रोन भेरियन्ट धेरै घातक नभएको र यसको रोकथामका लागि लगाइने प्रतिबन्धहरूले देशको अर्थतन्त्रमा निकै ठूलो असर पर्ने भएकाले प्रतिबन्धहरू फुकुवा गर्नुपर्ने बहस भइरहेको छ।


    बिहिवार, माघ ६ २०७८०५:३९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij