काठमाडौँ – नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ रहेको भन्दै उक्त क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गर्नुभयो ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतद्वारा सडक निर्माण भइरहेकोबारे सरकारको धारणा जारी गर्नुभएको हो ।
नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई मनन गरेर सरकारले सीमा समस्या समाधान गर्नका निमित्त कूटनीतिक माध्यमद्वारा प्रक्रिया अगाडि बढाउने मन्त्री कार्कीको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिले लिपुलेक क्षेत्रमा सडक निर्माण कार्य तीव्रताका साथ अगाडि बढेको अभिव्यक्ति दिनुभएको थियो । भारतको उत्तराखण्डको हल्दवानीमा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको खुलासा गर्नुभएको थियो ।
लिपुुलेक हुँदै मानसरोवर जोड्ने सडक भारतले बनाइरहेको मोदीको अभिव्यक्तिमा नेपाल सरकारको धारणा माग हुँदै आएको थियो । विपक्षीले भारतीय विस्तारवादविरुद्ध बोल्न नसकेको भन्दै देउवा सरकारको आलोचना गरेका थिए ।
नेपालको आपत्तिकाबीच भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ । हिजोमात्रै काठमाडौँस्थित भारतीय दूतावासले वक्तव्य जारी गरेर सीमा सम्बन्धमा नेपालसँग भारतले आफ्नो अडान प्रष्ट पारिसकेको बताएको थियो ।