काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न ओलीकै निवास बालकोट पुग्नुभएको छ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेट्नुभएको थियो । आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै २३ भदौयता एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ ।