काठमाडौँ । नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा पराजित सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाउनुभएको छ । महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका उम्मेदवारबीच समिक्षात्मक बैठक भएकाले अनिवार्य उपस्थित हुन सबैलाई आग्रह गरिएको बताइएको छ ।
बैठक आज दिउँसो २ बजेपछि अनामनगरस्थित होटेल बसेरामा हुँदै छ । यसअघि हिजो शेखर पक्षका शीर्ष तहका नेताबीच छलफल भएको थियो । उक्त बैठकको निर्णय अनुसार थप छलफल गर्न आफूपक्षीय उम्मेदवारको बैठक बोलाइएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
अनुपम फुडल्याण्डमा हिजो बसेको शीर्ष नेताको बैठकले रामचन्द्र पौडेलले देउवालाई सघाएको निष्कर्षसमेत निकालेको थियो । सभापति देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखर पक्षले असन्तुष्टि जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनमा दलबाट बनाइएका उम्मेदवारका विषयमा पनि परामर्श नभएको नेताहरूको गुनासो छ ।