Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
गुटको राजनीतिमै रमाउँदै कांग्रेस

सभापतिले गरेका बीजारोपणलाई संस्थापनइतर पक्षले गर्‍यो मलजल

सभापतिले गरेका बीजारोपणलाई संस्थापनइतर पक्षले गर्‍यो मलजल

  • मंगलवार, पौष २० २०७८

  • 805
    SHARES

  • सभापतिले गरेका बीजारोपणलाई संस्थापनइतर पक्षले गर्‍यो मलजल

    काठमाडौँ । पार्टीको १४औं महाधिवेशनबाट गुटगत राजनीति समाप्त भएको दाबी गरेको नेपाली कांग्रेस फेरि गुटको राजनीतिमै रमाउन थालेको छ । पार्टीमा झण्डै आधा दर्जन वैकल्पिक दाबेदारहरुकाबीच दोस्रो कार्यकालका लागि बाजी मार्न सफल सभापति शेरबहादुर देउवाले मनोनयनकै क्रममा गुटको बीजारोपण गरेको आरोप लगाएको डा. शेखर कोइराला पक्षले पनि यसलाई थप मलजल गरेको छ ।

    आज आफू पक्षीय बैठक बोलाएर सभापतिको होडबाट पराजय भोगेको शेखर समूहले पार्टीमा गुटगत राजनीति ज्युँका त्युँ रहेको स्पष्ट सन्देश दिएको हो । दुई पटक गरेर १३ जनालाई केन्द्रीय सस्यमा मनोनयन गरिएको विषयमा मात्र नभई शेखर पक्षले राष्ट्रिय सभा निर्वाचमा पार्टीका तर्फबाट अघि सारिएका उम्मेदवारहरुबारे पनि असन्तुष्टि जनाएको छ । पार्टीमा अगाडि छलफल हुनुपर्ने भएपनि त्यो नभएको भन्दै नेता अर्जुननर्सिंह केसीले आपत्ति जनाउनुभयो ।

    आफूहरुले पार्टीलाई एक बनाएर जान खोजेको तर निर्वाचित सभापतिले नै सहयोग लिन नजानेको संस्थापनइतर समूहको आरोप छ । पहिलो र दोस्रो चरणमा गरिएको केन्द्रीय सदस्य मनोनयनले सभापति एक्लै हिँड्न खोजे प्रष्ट देखिएको भन्दै यो पार्टीका लागि शुभ संकेत् नरहेको नेता केसीको भनाइ छ ।

    पार्टी गुट–उपगुटको यात्रामा अघि बढीसक्दा पनि कांग्रेसका केही नेता भने पार्टीमा कुनै गुट नभएको दाबी गर्छन् । यसकोे निकास १४औं महाधिवेशनले दिइसकेको नेता आनन्द ढुंगानाको जिकिर छ । सौहार्दपूर्ण वातावरणमा पार्टीको दुई वटा केन्द्रीय समितिको बैठक बसेको र यसले सहमतिमा सबै निर्णय गरेको भन्दै उहाँले पार्टी एक रहेको आधार पेश गर्नुभयो ।

    यस्तै, संस्थापनइतर पक्षले महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएर ‘तटस्थ’ बसेको दाबी गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको भूमिका तटस्थ नरहेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको यो समूहको बैठकले महाधिवेशनमा पौडेलको भूमिका तटस्थ नरहेको निष्कर्ष निकालेको हो ।

    निर्वाचन प्रक्रियामा सहभागि नहुने उद्घोष गरेपनि पौडेलले महाधिवेशनमा देउवालाई सहयोग गरेको निष्कर्ष बैठकले निकालेको नेता केसीले सुनाउनुभयो ।

    बैठकमा सभापतिका निकटतम प्रतिस्पर्धी कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी लगायत उपस्थित थिए ।
    यसैबीच, पार्टीभित्रको पछिल्लो परिस्थितिबारे राय लिन शेखर समूहका नेताहरुको विस्तारित बैठक भोलि बस्दैछ । १४ औं महाधिवेशनमा शेखर नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवार र प्रदेश सभापति र प्रत्याशीलाई बैठकमा बोलाइएको छ ।


    मंगलवार, पौष २० २०७८०८:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij