Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

फेरि प्रचण्डकै कब्जामा माओवादी

फेरि प्रचण्डकै कब्जामा माओवादी

महासचिव लगायतका पदमा भने रस्साकस्सी, चुनाव नै हुने सम्भावना
  • सोमवार, पौष १९ २०७८

  • 424
    SHARES

  • फेरि प्रचण्डकै कब्जामा माओवादी

    काठमाडौँ । नेपालका अन्य राजनीतिक दलहरुभन्दा पृथक पृष्ठभूमिबाट उदाएको नेकपा माओवादी केन्द्रमा अर्को ५ वर्षका लागि पुष्पकमल दाहाल प्रचण्डले नै कब्जा जमाएका छन् । तीन दशकभन्दा बढी समय नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएका प्रचण्डलाई पार्टीको ८औं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटीले अर्को ५ वर्षका लागि नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।

    महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । आज ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गर्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो ।

    अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताउनुभएको छ । उहाँले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिनुभएको छ ।

    महाधिवेशन प्रतिनिधिलाई भूमिकाहीन बनाउँदै अध्यक्ष प्रचण्डले बगलीबाट २ सय ३६ जना केन्द्रीय सदस्यको सूची निकालेर घोषणा गरेको भनि सार्वजनिक भएको बिषयप्रति उहाँले चर्को आक्रोशसमेत पोख्नुभयो । महाधिवेशनले प्रचण्डको आदेशको रुपमा नभइ त्यसबेलाको स्थायी समितिको प्रस्तावको रुपमा व्याख्याविश्लेषणसहित अहिलेको केन्द्रीय समितिलाई निर्वाचित गरेको दाबी गर्दै मिडियाले महाधिवेशन प्रतिनिधिहरुको अपमान गरेको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।

    अध्यक्ष प्रचण्डले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गर्नुभयो । तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

    कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उहाँले यो प्रश्न नै गलत रहेको पनि बताउनुभयो । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उहाँको भनाइ छ ।

    माओवादी केन्द्रमा अध्यक्षका वैकल्पिक दाबेदारसमेत नहुँदा प्रचण्ड निर्विरोध अर्को कार्यकालका लागि चयन हुनुभएको हो । विगतमा प्रचण्डलाई चुनौती दिन खोज्ने मोहन वैद्य किरण र डा बाबुराम भट्टराई आर्फ पाखा लागेपछि अहिले पार्टीमा प्रचण्डको उत्तराधिकारी नै देखिँदैनन् ।

    अध्यक्षमा प्रचण्ड निर्विकल्प भएपनि महासचिव लगायतका पदमा भने रस्साकस्सी नै छ । महासचिव पदका लागि जनार्दन शर्मा र नेता देव गुरुङबीच चुनाव नै हुने सम्भावना छ । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताउनुभएको छ ।


    सोमवार, पौष १९ २०७८०८:१२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij