काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।
शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।
शनिबार अबेरसम्म भए पनि केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाउने आफूहरुको चाहना भएको प्रचण्डले बताए ।
उनका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ छ ।
माओवादीले पालिका र प्रदेशस्तरमा निर्वाचनको अभ्यास गरेको भन्दै महाधिवेशनमा पनि त्यो अभ्यास गर्न सकिने प्रचण्डको भनाइ छ ।