काठमाडौँ – राजसंस्थाको वकालत गर्दै आएका राजावादीहरु एकजुट हुने दिशामा अघि बढेका छन् । विगतमा विभाजित र अन्यौलमा परेका राजावादीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै एक हुने दिशातर्फ अघि बढेको देखिएको हो ।
अध्यक्षमा निर्वाचित भएसँगै राजावादीहरुलाई एक बनाउन सक्रिय बनेका लिङ्देनले आज राजसंस्थाप्रति नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँग सम्भावित पार्टी एकताबारे छलफल गर्नुभएको छ ।
यो छलफलमा राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि सहभागी हुनुहुन्थ्यो । दुवै पार्टीका नेताहरुले सम्भावित पार्टी एकताबारे छलफल भएको बताएका छन् ।
विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताउनुभयो । दुवै पार्टी मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा आफूहरु खुला रहेको उहाँले बताउनुभयो ।
राप्रपा महामन्त्री राणाले पनि पार्टी एकताको लागि पहल सुरु भएको बताउनुभयो । समान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने आफूहरुको धारणा रहेको उहाँले बताउनुभयो । उहाँले विवेकशील साझासँग एकताका विषयमा छलफलको सुरुवात भएको र एकताको बिन्दुसम्म पुग्न धेरै कुराहरु मिलाउनुपर्ने बताउनुभयो । अहिलेलाई अनौपचारिक छलफल मात्रै भएको उहाँको भनाइ छ ।
विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै सार्वजनिक गरेको नयाँ दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्नुपर्ने बताउनुभएको छ ।
राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मक रूपमा नजिकिएका हुन् । तर यी दुई पार्टीको एकता तत्काल सम्भव नदेखिएको राजनीतिक विश्लेषक सुरेन्द्र केसीको बुझाई छ ।
रवीन्द्र मिश्रले केही समय यता राजसंस्थाका पक्षमा वकालत गर्न थालेपछि सामाजिक सञ्जालमा धेरैले उहाँलाई राप्रपासँग मिल्न व्यङ्यात्मक सुझाव दिने गरेका बेला साच्चिकै सम्भावित एकताको पहल सुरु भएको हो ।
पुराना नेताहरुको समूह रहेको राप्रपा र नयाँ पुस्ताको आकर्षण रहेको विवेकशील साझा पार्टीबीच एकताको कुरा चल्नु नै नेपाली राजनीतिका लागि रोचक परिदृष्य बनेको छ । राजावादीहरु एकजुट हुन थालेपछि निर्मल निवास हर्षित भएको छ भने गणतन्त्र पक्षधरहरु प्राप्त उपलब्धि रक्षाका लागि थप बलियो बन्नुपर्ने बताइरहेका छन् ।