काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताउनुभएको छ। भारतको अयोध्यामा राममन्दिर निर्माणको औपचारिक शिालान्यापछि मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको बताउनुभएको हो । भारतीय राजनीतिमा लामो समयदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यामा राममन्दिर निर्माणको आज औपचारिक शिलान्यास भएको हो ।
सो अवसरमा धारणा राख्दै मोदीले नेपालको नाम समेत उल्लेख गरेपछि दुवै देशमा चासोका साथ चर्चा भइरहेको छ । विश्वका विभिन्न मुलुकसँग रामको सम्बन्ध केलाउने क्रममा मोदीले नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकी अर्थात (सिता)सँग जोडिएको बताउनुभएको थियो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको दिन ‘राम’ नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएका थियो । तथ्यहरु तोडमोड गरेर भारतले नेपालमाथि सांस्कृतिक आक्रमण गरेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले भारतले अहिले तयार पारेको अयोध्या नक्कली रहेको पनि दाबी गर्नुभएको थियो ।
यो अभिव्यक्ति विवादित बनेपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भनाई राजनीतिक नरहेको बताउँदै खण्डन गरेको थियो । भारतको सत्तारुढ पार्टी भाजपाले समेत ओलीको अभिव्यक्तिप्रति निन्दा गरेको थियो । त्यसपछि आज अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दै मोदीले नेपालको नाम समेत उल्लेख गरेपछि नेपाल र भारत दुवै देशमा यसको चर्चा भइरहेको छ ।
कतिपयले राम र सिताबारे मोदीको आजको अभिव्यक्तिलाई रामजन्मभूमिबारे नेपालका प्रधानमन्त्रीको दाबीलाई भारतले प्रधानमन्त्रीकै तहबाट खारेज गरेको रुपमा अर्थ लगाएका छन् । तर भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्याय यो विषयलाई अब राजनीतिक रुप दिन नहुने बताउनुभयो । राम नेपाल र भारत दुवै देशका नागरिकका लागि आदर्श पुरुष रहेको उहाँले बताउनुभयो ।
राम मन्दिर शिलान्यासमा सहभागी हुन जानकी मन्दिरका महन्थसहितको नेपाली टोली पनि अयोध्या गएको थियो । गत वर्ष भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेपछि विवादित उक्त स्थानमा राम मन्दिरको निर्माणको बाटो खुलेको थियो । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णबले भगवान रामको जन्मभूमि अयोध्यामा राम मन्दिर निमार्णको शिलान्यास समारोहमा विशेष अतिथि भएर सहभागी हुन पाउँदा अत्यन्त गौरवान्वित भएको बताउनुभयो ।
भारतको सर्वोच्च अदालतले सन २०१९ नोभेम्बर ९ मा अयोध्याको विवादित जमिन हिन्दु पक्षलाई दिने फैसला गरेको थियो । उक्त स्थानमा रहेको बाबरी मस्जिद सन् १९९२ मा हिन्दुहरुले भत्काएका थिए । त्यसपछि भारतमा फैलिएको हिन्दु–मुस्लिम दंगामा दुई हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा राम जन्मेको अयोध्या नेपालको वीरगन्ज छेउमा पर्ने अभिव्यक्ति दिनुभएको थियो ।