काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ८औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष तथा सुझाव पेश गर्ने क्रम सुरु भएको छ । प्रचण्डको दस्तावेजमाथिको छलफलका लागि प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।
छलफल सकिएपछि आज ११ समूहका टोली नेताहरुले सुझावसहितको निष्कर्ष जारी बन्दसत्रमा पेश गरेका छन् । बाँकी १४ समूहको सुझाव तथा निष्कर्ष भोलि सुनाइने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
आज समुह नेताहरुले सुझाव पेश गर्ने क्रममा कम्युनिष्टहरुले सत्तामा पुगेपछि जनमुखी काम गर्न नसकेको ठहर गरेका छन् । समुह १४ का समुह नेता टंक राईले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिनुभएको छ । त्यस्तै यो समूहले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेको छ ।
छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गर्नुभएको छ । एमसीसी संशोधन गरेर पारित गर्नुपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताउनुभयो । उहाँले पार्टीको नीति नै नो एमसीसी हुनुपर्ने बताउनुभएको छ ।
समूहगत छलफलका क्रममा बागमती प्रदेशका सहभागीले दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको भन्दै यसबारे थप स्पष्टता माग गरिएको उपत्यका विषेश प्रदेश समितिका सचिव सुरेन्द्र बस्नेतले बताउनुभयो ।
समूगत छलफलमा पार्टी एकताको विषयमा समेत प्रष्ट हुनुपर्ने भन्दै विगतको नेकपा एकताको गम्भीर समीक्षा आवश्यक रहेको गण्डकीका प्रतिनिधि त्रिभुवन पौडेलले बताउनुभयो ।
अर्का टोली नेताका रुपमा सत्यनारायण भगतले राजनीतिक प्रतिवेदनमा ‘भारतीय विस्तारवाद’बारे उल्लेख गर्न माग गर्नुभएको छ । उहाँले अमेरिकालाई ‘साम्राज्यवाद’ भनेझैं भारतलाई ‘विस्तारवाद’ भन्नुपर्ने बताउनुभयो । सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानविन गरी अनियमित देखिएको सम्पत्ति जफत गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न माग गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो । छलफलका क्रममा मुलुक परिवर्तनको मुख्य नेतृत्व गरेको भन्दै यसलाई संस्थागत र सुदृढ गर्ने नेतृत्वमा पनि माओवादीले नै लिने गरी अघि बढ्नुपर्छ भन्नेबारे पनि सुझाव दिइएको गण्डकी प्रदेशका प्रतिनिधि अतेन्द्र केशरी न्यौपोनले बताउनुभयो ।
यसैगरी छलफलका क्रममा पार्टी सुद्धिकरण, आर्थिक पारदर्शीता र सच्चा कम्युनिष्ट चरित्र देखाएर कसरी अघि बढ्ने भन्ने बिषयमा कुरा उठेको भन्दै यसबारे पनि सुझाव दिइएको विपत् व्यवस्थापन विभाग तर्फका प्रतिनिधि नारायण काफ्लेले बताउनुभयो ।
अब भोलि बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने बताइएको छ । समूहगत छलफलमा राम कार्कीको पूरक दस्तावेज भने समावेश भएको छैन ।
माओवादी केन्द्रको महाधिवेशनमा विधान र राजनीतिक दस्तावेजमाथिको छलफल सकिएपछि प्रतिवेदन प्रस्तुतकर्ता अध्यक्ष प्रचण्ड र नेता देव गुरुङले जवाफ दिने छन् । त्यसपछि आवश्यक परिमार्जनसहित दुवै प्रतिवेदन पारित गरिने छ ।
जारी महाधिवेशनमा त्यसपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने नेता देवेन्द्र पौडेलले बताउनुभयो । माओवादीको महाधिवेशन हलबाट केन्द्रीय समिति चयन हुने छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।