काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न आज र भोलि दुई दिन बिहान ५ देखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा निकालिएको सूचनामा उल्लेख छ ।
उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने जनाइएको छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।
जनमत पार्टीले केही दिन अघि देखि सिरहामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर राखेर निषेधाज्ञा जारी गरेको प्रजिअ कवाडीले बताउनुभएको छ ।
औरही गाउँपालिकाले गहुँको बीउ लुटेको आरोपमा किसानमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवे गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने सहितका माग राखेर जनमत पार्टी आन्दोलित बनेको छ ।