काठमाडौँ । ऐतिहासिक दश वर्षे जनयुद्ध शान्तिपूर्ण राजनीतिमा परिणत भएपछि छिन्नभिन्न भएको नेकपा माओवादी फेरि एक हुने आधार तयार हुँदै गएको देखिएको छ । हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा होमिएपछिको पहिलो संविधानसभा निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाएको माओवादी विभाजनपछि कमजोर अवस्थामा पुगेको छ ।
अहिले नेकपा माओवादी केन्द्र मुलुकको तेस्रो शक्तिमै सीमित रहेपछि पहिलो शक्ति हुन पार्टीबाट छुट्टिएर गएका सबैलाई एक हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्दै आउनुभएको छ । नेपाली क्रान्तिलाई मौलिक ढंगले अघि बढाउन फेरि सबै एक हुनुको विकल्प नरहेको उहाँले बताउँदै आउनुभएको छ ।
माओवादी केन्द्रको अहिले ८औं राष्ट्रिय महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा अध्यक्ष प्रचण्डले विगतमा भएको विभिन्न कमिकमजोरीप्रति आत्मालोचना गर्ने बताउनुभएको छ, जसले छिन्नभिन्न भएको माओवादी फेरि एक हुने आधारलाई प्रवल तुल्याएको छ । जारी महाधिवेशनमा गरिने आत्मालोचनाले एकतामा थप मद्दत पुर्याउने अध्यक्ष प्रचण्डको विश्वास छ ।
एकतामा अध्यक्ष प्रचण्डले जोड दिइरहँदा छुट्टिएर गएका नेताहरु पनि सकारात्मक देखिएका छन् । पहिलो संविधान सभाको अवधिमा जनविद्रोहलाई पार्टीले आफ्नो लाइन नबनाएको भन्दै मोहन वैद्य किरणको नेतृत्वमा माओवादी विभक्त भएको थियो । वैद्य नेतृत्वको सो क्रान्तिकारी माओवादी पार्टी पनि अहिले एकताका लागि सकारात्मक देखिएको छ । यद्यपि एकताका लागि विभिन्न सर्त अघि सारेको छ । क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले माओवादी केन्द्रले युद्ध सुरु गर्नु अघि गरिएका प्रतिवद्धता पुनःस्थापित हुनुपर्ने, राष्ट्रघाती एमसीसी खारेजीको अडान लिनुपर्नेलगायतका सर्त राख्नुभएको छ ।
माओवादीहरुबीच मात्र नभइ विचार मिल्ने एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायतसँग पनि एकताका लागि प्रयार भइरहेको बताइन्छ । माओवादी केन्द्रसँग एकताको चर्चा चलिरहेकै बेला एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि हिजो मिल्दोजुल्दो अभिव्यक्ति दिनुभयो । उहाँले माओवादीले नयाँ नेपाल निर्माण गर्ने विचार अघि सारेको भन्दै एकतावद्ध भएर जानुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
शान्तिप्रक्रियापछि फरक लाइन समातेका मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, डा. बाबुराम भट्टराई, गोपाल किराती र विश्वभक्त दुलाल आहुति नेतृत्वका सबै पार्टी एक हने हो भने अहिले पनि नेकपा माओवादी शक्तिशाली हुन्छ नै । त्यसँगै एकीकृत समाजवादी र जसपासँग पनि माओवादी एकीकरण भए कुनै शक्तिले मुलुकको पहिलो शक्ति हुन रोक्दैन भन्नेमा दुई मत छैन । तर यो तत्कालका लागि भने असम्भव जस्तै रहेको राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।