काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गतको रकमलाई ’सित्तैमा आएको’ भनि भन्नु लज्जास्पद अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा आज रावले देशको प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु ’जनता ठग्ने लज्जास्पद अभिव्यक्ति’ भएको उल्लेख गर्नुभएको हो ।
यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै नसक्ने रावलको तर्क छ । ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ’सित्तैमा आएको’ भनी प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति हो ! यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन’ रावलले भन्नुभएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अरुले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाएको नेता रावलको आरोप छ । प्रधानमन्त्री देउवाले हिजो नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा शुभकामना दिँदै एमसीसीमा कहीँ राष्ट्रघात नदेखिएको भन्दै पढ्न सुझाव दिनुभएकोे थियो, भने सित्तैमा आएको रकम लिनुपर्ने तर्क गर्नुभएको थियो ।