काठमाडौँ । आजदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाविधेशनमा नेताहरुले राष्ट्रियता र स्वाधिनताको पक्षमा एक हुनुपर्नेमा जोड दिएका छन् । महाविधेशनमा अन्य दलहरुलाई पनि निम्ता दिने राजनीतिक प्रचलन अनुसार अथितिका उपस्थित भएका सबैजसो राजनीतिक दलका नेताहरुले राष्ट्रियता, स्वाधिनता र जनताको पक्षमा एक भएर उभिनुपर्ने बताएका हुन् ।
केहीदिन अघिसम्म कार्यक्रममा अन्य दलहरुलाई नबोलाउने भनिएपनि अन्तिममा एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदलिएपछि अरु दललाई बोलाइएको थियो । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफू राष्ट्रवादी भएको बताउँदै राष्ट्र र जनताको खिलापमा आफू कहिल्यै नलाग्ने बताउनुभयो । उहाँले एमसीसीबारे भ्रम फैलाइएको भन्दै यो राष्ट्रकै हितमा रहेको दाबी गर्नुभयो ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी सधैँ जनताको पक्षमा रहेको बतानुभयो । उहाँले शान्ति प्रक्रियामा भएको पार्टीको भुलचुकबारे पनि गम्भीर समिक्षा गर्ने बताउनुभयो ।
कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सबै दलहरु वैचारिक रुपमा फरक भएपनि देश र जनताको पक्षमा एक हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले यसबारे महाधिवेशनमा बृहत्तर छलफल गरेर स्पष्ट दृष्टिकोण तयार पार्नसमेत माओवादी केन्द्रलाई सुझाव दिनुभयो ।
।
महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि नेपालका सबै राजनीतिक दलले जनताको आकांक्षालाई मनन गर्न सक्नुपर्नेमा जोड दिनुभयो । हरेक दलहरुले आयोजना गर्ने महाधिवेशन तथा सम्मेलन जस्ताका कार्यक्रमका माध्यमबाट घोत्लिएर राष्ट्रलाई कुन बाटोमा डोर्याउने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आदिवासी, जनताजी, मधेशी, मुस्लिम तथा दलितहरुको मुक्ति जस्ता राष्ट्रिय सवालहरुलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बाधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले राष्ट्रिय स्वाधिनताका बिषयमा केही महत्वपूर्ण निर्णय लिन माओवादी केन्द्रलाई सुझाव दिनुभयो । उहाँले एमसीसी खारेजका लागि प्रस्ताव पारित गर्न पनि आग्रह गर्नुभयो ।
नेताहरुले मुलुकको समृद्धि, राष्ट्रियता, स्वाधिनता र जनताको पक्षमा अभिव्यक्ति दिनु कुनै नौलो कुरा होइन ।
तर यसलाई भाषा र भाषणमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन नगर्नु भने ब्लण्डर नै हो भन्ने जनमत कम छैन । त्यसकारण आवरणीय देशभक्त बन्न होटबाजी गर्नुभन्दा यसप्रति सबै राजनीतिक दल र नेताहरुले मनन गरेर व्यवाहारिक रुपमा पनि समृद्धि, राष्ट्रियता, स्वाधिनता र जनपक्षीय मुद्दामा एक हुन जरुरी छ ।