काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिएलगत्तै सभापति शेरबहादुर देउवाले पहिलो बैठक राखनुभएको हो । बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री थापाले बताउनुभयो ।
त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
१४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । आज समितिका पदाधिकारीले प्रमाण पत्र बुझेलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको हो ।