काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी माओवादीलाई एकताबद्ध गर्ने प्रयास गर्नुभएको छ ।
आज नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा गर्दै प्रचण्डले माओवादी एकताको संदेश दिनुभएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गर्नुभएको हो ।
छिन्न भिन्न भएको माओवादीलाई अब एकताबद्ध गर्ने उद्घोष गर्दै प्रचण्डले आफुहरुका कमीकमजारी सुधार गर्दै कम्युनिस्ट आन्दोलनलाई सफल पार्ने दावी गर्नुभयो । उहाँले पार्टी एकिकरणले गठवन्धनका पार्टी , नेतालाई असर नगर्ने पनि बताउनुभयो।
यसअघि नेकपा एमालेसँग पार्टी एकता गर्नुभएका प्रचण्डले केपी ओली प्रती लक्षीत गर्दै सत्तामा पुग्ने भ¥याङको रुपमा आफुहरुलाई प्रयोग गर्दा विश्वासघातको रुपमा पुगेकोे बताउनुभएको छ ।
आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भ¥याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको भनदै ओलिप्रति कटाक्ष गर्नुभयो।
अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न चाहनेलाई एकताले चुनौती भएको प्रचण्डको भनाई छ ।
साथै प्रचण्डले अन्य पुर्व आओवादी घटकहरुसंग पनि एकताको प्रयास भईरहेको संकेत गर्दै यो संदेश देश र विश्वभरि प्रवाहित गर्ने दावी गर्नुभयो ।
माओवादी पार्टीका धरै नेताहरु अहिले अन्य पार्टीमा लागेर र आफ्नै पार्टी वनाएर तितर–वितर भइसकेको अवस्था छ । पार्टी एकताको प्रयासमा लाग्नुभएका प्रचण्ड पटक पटक ठगीएको पनि आफैले बताउदै आउनुभएको छ ।
अध्यक्ष प्रचण्डले मूलप्रवाह छाडेर हिँडेका नेता–कार्यकर्ताहरुलाई पार्टीमा फर्काउने उद्घोष गर्दै त आउनु भएको छ । तर, व्यवहारतः यो कति सम्भव होला, हेर्न भने बाँकी नै छ ।