काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ ।
वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् ।
उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।आजको बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कार्यसुची थियो ।
साथै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेश गर्ने बिहीबारको कार्यसुची भएपनि एमालेको अवरोधका कारण बैठक चल्न सकेन ।
वैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । सभामुमख सानुकुमार श्रेष्ठले उनीहरुलाई पटक पटक बस्न आग्रह गर्दा समेत विरोध गरिरहका थिए । एमाले अवरोधका कारण बैठक अघि नबढेपछि सभामुख श्रेष्ठले अर्को सुचना नआएसम्म बैठक स्थगित भएको सूचना पढेर सुनाउनु भएको थियो।