काठमाडौं । माघ १२ मा हुने राष्ट्रिय सभाको चुनावमा मतभार हँदाहुदै पनि एमालेलाई जित्न चुनौती देखीएको छ ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन बनेको अवस्थामा नेकपा एमालेलाई पहिलेका ८ वटा सीट जोगाउनु समेत चुनौती देखीएको हो । राष्ट्रिय सभा चुनावका लागि कूल २ हजार २५ जना मतदाता छन् ।
जसमा प्रदेश सभा सदस्य ५ सय ३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४ सय ९३ जना मतदाता छन् । यो चुनावबाट सबै प्रमुख दलहरू राष्ट्रियसभामा हाल कायम रहेको वर्चश्व जोगाउने रणनीतिमा छन् ।
आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
आगामी फागुनदेखि ७ प्रदेशबाट एमालेका कुल ८ सांसदको पदाअवधी सकिदै छ । प्रदेश १ बाट उसका ३ सांसद, अन्य प्रदेशबाट ५ सांसद बिदा हुँदैछन् । सात प्रदेशमा राष्ट्रिय सभाको मतदाताको मतभार हेर्दा एमाले कमजोर देखिएको छ ।
प्रदेश १ मा भने एमाले गठबन्धन दलको कूल मत जोड्दा पनि अग्रस्थानमा छ । अन्य ६ वटा प्रदेशमा भने एमाले कमजोर देखिएको छ । तर, सत्ता साझेदार दलहरू राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धन बनाएरै जाने निश्चित भएकाले एमालेका लागि चुनाव जित्न ठुलो चुनौती छ ।
यस्तो छ प्रदेशगत मतदाता र मतभार
प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश १ मा ९ हजार ३ सय ४८ मतभार रहेको छ ।
यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, काँग्रेसको २ हजार ६ सय १०, माओवादी केन्द्रको ९ सय ६०, जनता समाजवादी पार्टीको २ सय १६, राप्रपाको २ सय १०, संयुक्त लोकतान्त्रिक फोरमको १ सय २६, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको ४८ मतभार छ ।
यस्तै प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ मतदाता छन् भने प्रदेश सभा तर्फबाट १ सय ४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २ हजार २ सय ६२, माओवादी केन्द्रको ११ सय ९४, एमालेको ९ सय ४२, नेकपा एसको ७ सय ५०, जसपाको २९ सय ८८, लोसपाको १५ सय ६०, लोकतान्त्रिक फोरमको १ सय ८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ ।
यस्तै बागमती प्रदेशमा स्थानीय तहबाट २ सय ३७ र प्रदेशसभाबाट १ सय ९ मतदाता छन् । यहाँ कुल ९ हजार ४ सय ९८ मतभार रहेको छ । यहाँ कुल ९ हजार ८ सय ८८ मतभार छ । यो प्रदेशमा एमालेको ४ हजार १ सय ५२, काँग्रेसको २ हजार २ सय ६२, माओवादी केन्द्रको १ हजार ६ सय ९, विवेकशील साझाको १ सय ४४, राप्रपाको १ सय ३२, नेमकिपाको ९६ तथा एक सांसद र २ पालिका प्रतिनिधिबाट ८४ स्वतन्त्र मतभार छ ।
यस्तै गण्डकी प्रदेशमा स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन् । यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ । यो प्रदेशमा सबैभन्दा धेरै एमालेको २ हजार ५ सय ३८, काँग्रेसको २ हजार १ सय ७८, जसपाको ९६ राष्ट्रिय जनमोर्चाको ९६, राप्रपाको १८ र स्वतन्त्र १ सय ३८ मतभार रहेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा स्थानीय तहबाट २ सय १५ जना र प्रदेश सभातर्फ ८१ जना रहेका छन् । लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभार रहेको छ । यहाँ एमालेको ३२ सय ७६ मतभार, काँग्रेसको २ हजार ६४, माओवादीको १६ सय ५०, नेकपा एसको १ सय २०, जसपाको ३ सय २४, लोसपाको ३६, राजमोको ४८, राप्रपाको ३६, लोकतान्त्रिक फोरमको ३६, एक सांसदको ४८ र स्वतन्त्र १ सय २६ मतभार छ ।
यस्तै कर्णाली प्रदेशमा स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन् । कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ । यहाँ माओवादी केन्द्रको मतभार १४ सय ९४, एमालेको १४ सय ३४, काँग्रेसको १ हजार ८, राप्रपाको ८४ र स्वतन्त्र १ सय ८ मतभार छ ।
सुदुरपश्चिम प्रदेशमा स्थानीय तहबाट १ सय ७५ मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५२ जना मतदाता रहेका छन् । यहाँ कूल ५ हजार ६ सय ६४ मतभार छ । यहाँ काँग्रेसको मतभार १८ सय ७२, एमालेको १७ सय ८८, माओवादी केन्द्रको ९ सय ६६, नेकपा एकीकृत समाजवादीको ९ सय ६, जसपाको ४८, लोसपाको ४८, लोकतान्त्रिक फोरमको ३६ मतभार छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावमा भाग लिन यही पुस १० गतेसम्म राजनीतिक दल दर्ता गर्न मिती तोकेको ट । निर्वाचन कार्यतालिका अन्तर्गत पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने, पुस १९ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता, पुस २४ गते मनोनयन फिर्ता लिने समय, पुस २५ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने र माघ १२ गते मतदानको कार्यक्रम राखिएको आयोगले जनाएको छ ।
साथै राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तह गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाताका रुपमा रहने व्यवस्था छ । एक जना प्रदेश सभा सदस्य बराबर ४८ मत कायम गरिएको छ भने स्थानीय तहका प्रतिनिधिको मतभार १८ कायम गरिएको छ ।