काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताउनुभएको छ ।
समाजवादी प्रेस संगठनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बताउनुभयो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई निरन्तरता दिने आफूलाई बताएको दाहालको भनाइ छ ।
’एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,’ दाहालले भन्नुभयो, ’प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ ।’
ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको प्रचण्डको तर्क छ ।
प्रचण्डले प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत सदस्यहरुले ओलीलाई कारबाही गरेको सम्झिए । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उहाले भन्नुभयो, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’
ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले ओलीलाई बचाइएको उहाको दाबी छ ।
ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उहाको दाबी छ । संविधानको धारा ७६(५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’