काठमाडौँ । राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । आज १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह एमालेका सांसदहरूले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले अनिश्चित कालका राष्ट्रिय सभाको बैठक स्थगित भएको सूचना सुनाउनुभएको थियो ।
राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताउनुभएको भयो । उहाले सत्तापक्षबाट भन्दा पनि प्रतिपक्षबाट बढी अपेक्षा गरिएको भन्दै असन्तुष्टि राख्नुभएको थियो । ’प्रमुख प्रतिपक्षी दल जिम्मेवार हुनुपर्ने हो कि सत्तापक्ष ? प्रमुख प्रतिपक्षबाट बढी अपेक्षा गरिएको छ,’ उहाले भन्नुभयो, ’१० औँ अधिवेशन अवरुद्ध गर्ने क्रममा जुन विषय उठाएका छन् ती अझै यथावत छन् । हामीले कारबाही गर्नका लागि उठाएका विषय यथावत छन् । देशको ठूलो पार्टी एमालेले भनेका कुरा सरकारले सुनेको छैन ।’
सर्वदलीय बैठक बोलाउँदा पनि देखावटी काम गरिएको दाहालको भनाइ थियो । उहाले माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराउनुभयो ।