काठमाडौँ । नेकपा माआवोदी केन्द्रले प्रदेश पदाधिकारी सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन गर्न निर्देशन दिएको छ । प्रदेश समिति चयन भए पनि अधिकांश प्रदेशमा अध्यक्षसहित पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन गरेर टुंगो लागाउन निर्देशन दिएको माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार (भेली)सम्म राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउनु पर्ने भएकाले आज निर्वाचनबाट प्रदेश पदाधिकारी टुंगो लगाउन निर्देशन दिइएको उहाँको भनाइ छ ।
यसअघि माओवादीले सकेसम्म प्रदेशमा सर्वसम्मत नभए निर्वाचनमा जान निर्देशन दिएको थियो । तर, केन्द्रीय निर्वाचन आयोगले नै निर्वाचनमा जान नदिएपछि सहमति प्रयास गरिएका थिए । सहमतिको प्रयास गरिएको भए पनि प्रदेश नेतृत्व चयन हुन नसक्दा आज पुनः प्रदेश समितिबाट निर्वाचन गरेर नेतृत्व टुंगो लगाउन भनिएको छ ।
प्रदेश एक, दुई, बागती, सुदूरपश्चिम प्रदेशमा अध्यक्षसहित पदाधिकारी चयन हुन सकेको छैन । गण्डकी प्रदेशमा गायत्री गुरुङ, लुम्बिनी प्रदेशमा सुदर्शन बराल र कर्णाली प्रदेशमा विमला केसी अध्यक्ष चयन भए पनि पदाधिकारी चयन हुन सकेको छैन ।
यस्तै सम्पर्क समन्वय प्रदेशमा अध्यक्ष घोषणा भए पनि पदाधिकारी टुंगो लाग्न सकेको छैन । तर, उपत्यका विशेष प्रदेशमा भने सबै पदाधिकारीसहित प्रदेश समिति घोषणा भइसकेको छ ।