Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे सर्वदलीय बैठकमै सत्तापक्षको लफडा, तमासा हेर्दै एमाले

एमसीसीबारे सर्वदलीय बैठकमै सत्तापक्षको लफडा, तमासा हेर्दै एमाले

  • आइतवार, पौष ४ २०७८

  • 695
    SHARES

  • एमसीसीबारे सर्वदलीय बैठकमै सत्तापक्षको लफडा, तमासा हेर्दै एमाले

    काठमाडौं – एमसीसी सम्झौता संसदबाट पारित गर्ने सन्बन्धमा सत्ता गठबन्धका दलहरुबीचमै विवाद भएपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

    प्रमुख विपक्षी नेकपा एमालेले बहिस्कार गरेको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले ठाडै अस्वीकार गर्नुभएको थियो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्ने भने पनि सत्ता गठबन्धनभित्रका अरु दलका नेताहरुले संशोधनबिना पास गर्न नहुने भन्दै प्रतिवाद गरेको जानकारी दिनुभयोे ।

    सुवालका अनुसार सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठकमा मौन बस्नुभएको थियो भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी पास गर्नुपर्ने धारणा राख्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताउनुभएको थियो ।

    सरकारका प्रवक्ता कार्कीले पनि आजको सर्वदलीय बैठकमा एमसीसीबारे सबै राजनीतिक दलहरुले आ–आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको बताउनुभयो ।

    केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।

    आजको बैठकले प्रमुख विपक्षी नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न पनि आग्रह गरेको छ । प्रवक्ता कार्कीले बलियो प्रतिपक्षी हुनुको अर्थ निरन्तर संसद अवरोध गर्नुमात्रै नभएकाले लोेकतन्त्रमाथि खतरा आउन नदिन गतिरोध अन्त्यका लागि एमालेलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    यसैबीच एमसीसी सम्झौतालाई संसदमा लैजानुअघि सत्ता गठबन्धनमा व्यापक छलफल हुने भएको छ । आजको सर्वदलीय बैठकमा एमसीसीका बुँदा–बुँदामा थप छलफल गर्ने सहमति बनेको हो ।

    एमसीसी सम्झौता राष्ट्रघाति भएको भन्दै एक पक्षले यसलाई स्वीकार गर्न नहुने बताइरहेको छ । ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले भने एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

    प्रधानमन्त्री रहँदा ससंदमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यही संसदबाट एमसीसी पास गर्नुपर्ने बताउनुभएको थियो । तर अहिले प्रतिपक्षमा रहेको एमालेले सत्तागठबन्धनले धारणा ल्याएपछि मात्रै एमसीसीबारे धारणा बनाउने बताइरहेको छ ।


    आइतवार, पौष ४ २०७८०७:३२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij