काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ ।
‘हामीले मतगणना सम्पन्न ग¥यौँ, अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ समितिका एक पदाधिकारीले भने । गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।
खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए । अब ९९ जना उम्मेदवारमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबिच, कांग्रेसको महिला (खुल्ला)तर्फको केन्द्रीय सदस्यको मतगणना शुरु भएको छ। मतगणना केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको हो। केन्द्रीय सदस्य महिला खुल्ला ९ पदको लागि ३१ जना प्रतिस्पर्धामा छन्।