काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको छ । आज (मंगलबार) सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको जनाउनुभएको हो । प्रधानमन्त्रीका प्रस सल्लाहकार सुर्य थापाका अनुसार ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसहित २५ जनासँग परामर्शमा गर्नुभएको हो ।
परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित २५ जनाको उपस्थिति रहेको थियो । सुझाव दिनेहरुलाई प्रधानमन्त्रीले धन्यवाद दिदैँ कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।
थापाले सुझावहरु एकै खालका नभएको भन्दै समग्रतामा कोभिड समस्या बढिरहेको सन्दर्भमा मिश्रित सुझाव प्राप्त भएको बताउनुभयो । ‘कतिपयले लकडाउन गर्नुपर्ने, कतिपयले कडा कदम चाल्न सुझाव दिनुभएको छ । तराइका, वीरगन्ज, नेपालगञ्ज लगायतमा धेरै समस्या देखिएको तथा काठमाडौँमा समेत पछिल्लो समय संक्रमित बढेको अवस्थामा विज्ञका सुझावलाई महत्त्वपूर्ण रुपमा लिने र कार्यान्वयनमा लैजाने भनेर निष्कर्ष निस्किएको छ’, थापाको भनाइ छ ।
साढे चारघण्टा भएको परामर्शले सरकारले चालेका कदम र अव चाल्ने कमदमा निम्ति नयाँ मार्गनिर्देश गरेको पनि थापाले जानकारी दिए । परामर्शमा स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारी पनि सहभागी थिए ।