Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पौडेललाई नेता नमान्ने संस्थापनइतरको घोषणा, शेखर उदाए

पौडेललाई नेता नमान्ने संस्थापनइतरको घोषणा, शेखर उदाए

  • बुधवार, मंसिर २९ २०७८

  • 1.9K
    SHARES

  • पौडेललाई नेता नमान्ने संस्थापनइतरको घोषणा, शेखर उदाए

    काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहले अब शेखर कोइरालाकै नेतृत्वमा आफ्नो गतिविधि अघि बढाउने घोषणा गरेको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा रामचन्द्र पौडेलले असहयोग गरेको निष्कर्ष निकाल्दै यो समूहले अब पौडेललाई नेता नमान्ने उद्घोष गरेको हो ।

    शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्नुभएका नेता कोइरालाले आज धन्यवाद सभाको आयोजना गर्नुभएको थियो ।
    समारोहमा उपसभातिका उम्मेदवार चन्द्र भण्डारीले अब शेखर कोइरालाकै नेतृत्वमा आफूहरु अघि बढ्ने बताउनुभयो ।

    रामचन्द्र पौडेलको नाम नलिएरै सम्बोधन गर्नुभएका भण्डारीले १५औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व गर्ने टिम हलमा उपस्थित रहेको बताउनुभयो । उहाँले पौडेलसहित शशंका कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि जस्ता खम्बाहरु सत्ता र शक्तिको मातमा ढलेको आरोप लगाउनुभयो ।

    महामन्त्रीका उम्मेदवार गगन थापाले पनि अब रामचन्द्र पौडेललाई नेता मान्न नसकिने आशय व्यक्त गर्नुभयो । आफूहरुको पक्षमा उभिनुको साटो विवकको मत प्रयाग गर भनेर हिँडेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । वरिष्ठ नेताहरुले साथ छाडे पनि शेखर कोइरालाको पक्षमा खसेको मतले आफूहरुको विचारको जित भएको उहाँले बताउनुभयो ।

    शेखर कोइरालाको नेतृत्वमा अब पार्टीमा सहकार्य र संघर्षको नीति लिएर आफूहरु अघि बढ्ने गगनका भनाइ थियो । यस्तै महामन्त्रीका अर्का उम्मेदवार मीनेन्द्र रिजालले पार्टीमा विचारको प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो ।

    आफूहरुले संख्यामा भागबण्डा नचाहेको तर विचारको प्रतिनिधित्व हुनुपर्नेमा उहाँको जोड छ । शेखर कोइरालाको टिममा ४० प्रतिशत प्रतिनिधिले अभिमत व्यक्त गरेको उहाँले बताउनुभयो ।

    नेताहरुले अब रामचन्द्र पौडेललाई स्वीकार नगर्ने आशय व्यक्त गर्दै भाषण ठोकेपछि अन्तिममा आफ्ना भनाइ राख्नुभएका कोइरालाले पनि पार्टी रुपान्तरणका लागि आफू आजैदखि सक्रिय बनेको बताउनुभयो । कोइरालाले अब १५औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार आफैँ रहने आशय व्यक्त गर्दै कार्यकर्ताको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाउनुभयो ।

    कोइरालाल शेरबहादुर देउवासँगको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको पनि बताउनुभयो । आफूले मान्दै आएका नेताहरुले गरेको असहयोगप्रति पनि आफ्ना चित्त दुखाइ नरहेको उहाँले सुनाउनुभयो । अरु नेताहरुले पार्टीमा ४० प्रतिशत हिस्सा पाउनपर्ने बताइरहँदा कोइरालाले भने भाग माग्न आफू नजाने बरु काम गरे देखाउने बताउनुभयो ।


    १४औँ महाधिवेशनमा कोइराला शेरबहादुर देउवासँग पराजित हुनुभएको हो । तमामौँ प्रतिकुलताका बाबजुद कोइरालाले ४० प्रतिशत मत पाएपछि कांग्रेसमा ६०–४० को भागबण्डाल फेरि निरन्तरता पाउने देखिएको छ । संस्थापन समूहले प्रतिस्पर्धा गरेका सबैलाई यथोचित सम्मान गरिने बताएको छ ।


    बुधवार, मंसिर २९ २०७८०७:४९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij