Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अनि विमलेन्द्र र प्रकाशमान देउवाकै शरणमा...

अनि विमलेन्द्र र प्रकाशमान देउवाकै शरणमा...

  • मंगलवार, मंसिर २८ २०७८

  • 627
    SHARES

  • अनि विमलेन्द्र र प्रकाशमान देउवाकै शरणमा...

    काठमाडौँ – कांग्रेसको सभापतिमा उम्मेदवारी दिएर मतदान गरिसक्दासम्म पनि शेरबहादुर देउवाको विकल्पमा मोर्चाबन्दी गर्ने बताइरहेका विमलेन्द्र निधि र प्रकाशमान सिंह अन्ततः देउवाकै शरणमा विलिन हुन पुगेका छन् ।

    १४औँ महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण गर्ने रटान लगाइरहेका यी दुई नेताको नाटकीय परिवर्तनपछि राजनीतिमा नैतिकताको खडेरी सिर्जना हुन गएको टिप्पणीहरु भइरहेका छन् ।

    तर सभापतिमा देउवालाई समर्थन गरेका नेता प्रकाशमान सिंह भने बहुमत प्रतिनिधिले नेतृत्व परिवर्तन नचाहेको देखिएकोले आफूले देउवालाई समर्थन गरेको जिकिर गर्नुहुन्छ ।

    हिजोसम्मका आफ्ना एजेण्डा र अभिव्यक्तिलाई तिलान्जली दिएर देउवालाई नै समर्थन गर्न पुगेका निधि र सिंहले धोका दिएको भन्दै सभापतिका बलिया प्रतिस्पर्धी शेखर कोइरालाले गम्भीर आपत्ति प्रकट गर्नुभयो ।

    यसअघि संस्थापनइतर समूहबाट जसले धेरै मत ल्याउँछ उसलाई सबैले सहयोग गर्ने भद्र सहमति निधि, सिंह र कोइरालाबीच भएको थियो । उक्त सहमति उल्लंघन भएपछि आज पत्रकार सम्मलन गर्दै कोइरालाले नैतिकताको कुरा उठाएर आक्रोश पोख्नुभएको हो ।

    तर राजनीतिक विश्लेषक लोकराज बराल नेपालको राजनीतिमा नैतिकताको खोजी गर्नु नै अचम्मको विषय रहेको प्रतिक्रिया दिनुहुन्छ । लेनदेन र सौदाबाजीले काम गर्ने राजनीतिमा कसैले पनि नैतिकताको कुरा गर्न नसुहाउने उहाँले बताउनुभयो । निधि र सिंहले पनि सुविधाको राजनीति गरेको उहाँले बताउनुभयो ।

    बरालको दृष्टिकोणमा शेखरलाई नेता स्वीकार्न नसक्ने निधि र सिंहको मनोविज्ञानले देउवालाई फाइदा पुगेको हो । एकाएक शेखरलाई सभापति स्वीकार्नुभन्दा पहिलेदेखि नै सभापति रहेका देउवालाई नै नेता मान्न उनीहरु तयार भएका हुुन सक्ने बरालको बुझाइ छ ।

    श्रोतका अनुसार प्रकाशमान सिंहलाई तत्कालै सरकारमा उपप्रधानमन्त्रीसहित भाग दिने र विमलेन्द्र निधिलाई मधेसको राजनीतिमा सहयोग गर्ने वाचा देउवाले गरेका छन् ।

    कतिपयले कांग्रेसको नयाँ शक्तिका रुपमा आफूलाइ खडा गर्न कोइराला भन्दा देउवालाई सहयोग गरे सजिलो हुने भन्ठानेर सिंह आफ्नो अडानबाट उल्टिएको टिप्पणी गरिरहेका छन् ।

    अझ कतिपयले त प्रकाशमान संस्थापनइतर समूह भत्काउन देउवाको गोटीका रुपमा उम्मेदवार बनेको दाबी पनि गरेका छन् ।


    मंगलवार, मंसिर २८ २०७८०७:४४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij