काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
सोमबार सम्पन्न चुनावमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि आज दोस्रो चरणको मतदान सुरु भएको हो।
नेपाली कांग्रेसको निर्वाचन समितिले आज दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म मतदान हुने जनाएको छ।
केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिए । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।
१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।
दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् । देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने भएका छन् । भृकुटिमण्डपस्थित मतदान स्थल परिसरमा अहिले सभापतिका प्रत्यासी शेखर कोइराला मतदाताहरुसँग मत मागिरहेका छन् ।